कैलालीको टीकापुर नगरपालीकाको वडा नम्वर–८ धनसिंहपुरमा केराको थामबाट रेसा उत्पादन थालिएको छ । धनसिंहपुर एकता समाज बचत तथ ऋण सहकारी संस्थाले उद्योग स्थापना गरी रेसा उत्पादन थालेको हो । यसरी उत्पादन भएको रेसा कपडा र बिछ्याउने कार्पेट बनाउन प्रयोग हुन्छ । सहकारीले उत्पादन गरेको कच्चा पदार्थ बिक्री गर्न काठमाडौँ पठाइने भएको छ ।
सहकारीले काठमाडौँको एक कपडा उत्पादन गर्ने उद्योगसँग कच्चा पदार्थ बिक्री गर्ने सहमतिअनुसार उद्योग स्थापना गरिएको धनसिंहपुर एकता समाज बचत तथ ऋण सहकारी संस्थाका व्यवस्थापक रामकृष्ण चौधरीले जानकारी दिए ।
केराको रेसा उत्पादनका लागि सहकारीले हाल प्राविधिकसहित दुई कर्मचारी राखेर काम थालेको छ । रेसा उत्पादन गर्ने मेसिनको टीकापुर नगरपालिका–८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले हालै उद्घाटन गरे। केराको थामबाट रेसा उत्पादन गर्ने सुदूरपश्चिमा पहिलो उद्योग भएको व्यवस्थापक चौधरीको दाबी छ ।
सहकारीले रेसा उत्पादन गर्ने उपकरणसँगै रेसा पकाउने मेसिन र धागो बनाउने चर्खासमेत जडान गर्ने भएको छ । केराको धागो र रेसा बनाउन सहकारीको रु दुई लाख र रु दुई लाख दिगो विकास समाज भजनीले लगानी गर्न लागेको व्यवस्थापक चौधरीले जानकारी दिए । खेर गइरहेको केराको थाम प्रयोग गरेर आम्दानी गर्न सकिने भएकाले केराको रेसा निकाल्ने मेसिन सञ्चालनमा ल्याएको बताइएको छ । विसं २०६८ मा स्थापना भएको सो सहकारीले शेयर सदस्यलाई आयआर्जनसँग जोड्न विभिन्न कार्यक्रम गर्दै आएको छ ।