काठमाडौँ-कोभिड–१९बाट नेपालमा एकैदिन २ सय १४ जनाको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा २ सय १४ जनाको मृत्यु भएको हो । योसँगै देशभर कोभिडबाट मृत्यु हुनेको संख्या ४ हजार २ सय १५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा २१ हजार ६ सय ५२ जनामा गरिएको पीसीआर परीक्षणमा ९ हजार १ सय ९८ र ४ सय ३४ जनमा गरिएको एन्टिजेन परीक्षणमा ४९ जना गरी जम्मा ९ हजार २ सय ४७ जनामा संक्रमण भएको छ ।
संक्रमितमध्ये काठमाडौंमा २ हजार ३ सय ४६, भक्तपुरमा २ सय ९८ र ललितपुरमा ४ सय ५४ गरी काठमाडौं उपत्यकामा मात्रै ३ हजार ९८ जना रहेका छन् । योसँगै देशभर कोभिड संक्रमितको संख्या ४ लाख ६४ हजार २ सय १८ पुगेको छ ।
एकैदिनमा ५ हजार ७ सय ६७ जनाको संक्रमुक्त हुँदा कुल संक्रमणमुक्त हुनेको संख्या ३ लाख ४५ हजार ५ सय २३ पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार देशभर १ लाख १३ हजार ४ सय ८० जना आइसोलेसन र ७ सय ८ जना क्वारेन्टिनमा छन् ।
आइसोलेसनमा भएकामध्ये १ हजार २ सय ५९ जना आईसीयूमा रहँदा ४ सय जना भेन्टिलेटरमा छन् ।