धनगढी -साढे दुई दशकसम्म बहसमै अल्झिएको गेटा मेडिकल कलेज आगामी बर्षदेखि सञ्चालन हुने भएको छ । अध्यादेशमार्फत ल्याइएको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले आगामी बर्षदेखि मेडिकल कलेज सञ्चालन हुने जानकारी दिए । उनले मेडिकल कलेजका लागि विनियोजन भएको बजेट भने खुलाएनन् । ६ सय शय्याको अस्पताल र मेडिकल कलेजका लागि भवनलगायत २९ वटा पूर्वाधार संरचनाको निर्माण सकिन लागेको छ ।
हालसम्म ४ अर्बका विभिन्न ठेक्का भई काम अन्तिम चरणमा पुगेको छ । अस्पताल, कलेज, प्रशासनिक भवन, निवासलगायत सातवटा प्याकेजअन्तर्गत भवन पूर्वाधार बनेका छन् । पर्खाल, ५ वटा निवास भवन, तटबन्धको पनि नयाँ टेन्डर भइसकेको छ । गेटा मेडिकल कलेज सुदूरपश्चिमको स्वास्थ्य क्षेत्रका लागि कोसेढुंगा सावित हुने यहाँका अगुवाको विश्वास छ ।