स्पष्टीकरण सोधिएका एमाले नेताहरुलाई थप कारबाहीलगायतका विषयमा छलफल गर्न नेकपा एमालेको स्थायी कमिटीको बैठक बस्दै छ । आइतबार बस्ने तय भए पनि स्थगित गरिएको बैठक सोमबार बिहान बस्न लागेको हो ।
केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले सोमबार बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको जानकारी दिए । पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्दै बैठकले आवश्यक निर्णय लिने उनले बताएका छन् ।
यसअघि १० जेठको बैठकले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित ११ जनालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको थियो भने घनश्याम भुसालसहित थप १२ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन समर्थन रहेको भन्दै हस्ताक्षर गरेका १२ सांसदसँग एमालेले स्पष्टीकरण मागेको थियो । स्पष्टीकरण सोधिएकाहरुमा घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, सुरेन्द्र पाण्डे, जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, झपट रावल, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, मेटमणि चौधरी, दीपकप्रकाश भट्ट, विरोध खतिवडा र नारायण खतिवडा छन् । उनीहरूले स्पष्टीकरण बुझाएका छैनन् ।