कोरोना महामारीकै बीच बैतडीमा विद्यार्थी भर्ना अभियान संचालन गरिएको छ। जिल्लामा असार १ गतेदेखि नै भर्ना अभियान सुरु गरिएको हो।
शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका प्रमुख नरेन्द्र प्रसाद अवस्थीले जिल्लाभित्रका सामुदायिक र संस्थागत सबै विद्यालयमा नियमित विद्यार्थी भर्ना अभियान सुरु गरिएको जानकारी दिए।
कोरोना महामारीका कारण भौतिक उपस्थितिमा परीक्षा गर्न सम्भव नभएपछि आन्तरिक मुल्याङ्कनबाट नतिजा प्रकाशन गरेका सबै विद्यालयले भर्ना अभियान सञ्चालन गरेका छन्।
‘असार १ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु भएको छ। १० वटै स्थानीय तहका विद्यालयमा भर्ना अभियान थालिएको छ’ अवस्थीले भने। कुनै विद्यालयमा कक्षा ५ र कक्षा ८ उत्तिर्ण गरेका विद्यार्थीहरुलाई माथिल्लो कक्षाका लागि विद्यालय परिर्वतन गर्नुेपर्ने भएकाले त्यस्ता विद्यार्थीका अभिभावकसँग फोनको माध्यमबाट छलफल गरेर भर्ना गर्न सुझाव दिइएको अवस्थीले बताए।
सबै सरहरुलाई फोनमार्फत भर्ना अभियान सञ्चालन गर्न भनेको जानकारी दिदैं अवस्थीले यो महिनाभर भर्ना अभियान चल्ने बताए। दशरथचन्द नगरपालिकाका शिक्षा शाखा प्रमुख मोहन नाथले असार १५ गतेसम्म भर्ना गर्न भनेर सूचना जारी गरिएको बताए।
उनले भने,‘घरदैलो तथा भौतिक उपस्थितिमा भर्ना गर्न सकिने अवस्था नरहेकोले वैकल्पिक माध्यमबाट भर्ना गरिरहेका छौं।’ उनले नयाँ भर्नाको लागि एसएमएस फोन मार्फत जानकारी दिने र माथिल्लो कक्षामा गएकालाई आफै भर्ना गरिदिन भनेको उनले बताए।
पाटन नगरपालिका–९ स्थित सिद्धेश्वर मावि हुक्केडाँडाका प्रधानाध्यापक बहादुरसिंह महराले भर्ना प्रक्रिया अगाडि बढाइएको जनाउदै फरक दिन फरक टोलका विद्यार्थी तथा अभिभावक बोलाएर भर्ना कार्यक्रम भइरहेको बताए।
सुर्नया गाउँपालिकामा भने कोरोना कहरका कारण एक टोलका विद्याथीलाई एक दिन अर्को टोलकालाई अर्को दिन बोलाएर भर्ना गर्ने गरिएको जनाएको छ।
सबै टोलहरुमा अभिभावकहलाई पत्राचार गरेर स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर आ–आफ्ना नानीबाबुलाई भर्ना गर्न अनुरोध गरिएको बाशुदेव मावि लिष्किटाका लेखापाल वीरेन्द्र पाण्डेले जानकारी दिए।
हाल पठनपाठन गर्न सकिने अवस्था नरहेको भएपनि कोरोना संक्रमण नियन्त्रणमा आएपछि विद्यालय सञ्चालन गरिने प्रमुख अवस्थीले बताए।