कैलालीमा एक सय २० ग्राम सुनसहित तीन जना पक्राउ परेका छन्। गोदावरी नगरपालिका-२ अत्तरिया बसपार्कमा सुपप्र ३ ०१००२ च ४६९९ नम्बरको कार चेक गर्दा फेला परेको सुनको बिल नभएकोले उनीहरूलाई प्रहरीले पक्रेको हो।
चोरीको सुन किनबेच हुने गरेको भन्ने सूचनाका आधारमा सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले सोमबार बिहान उनीहरूलाई पक्राउ गरेको थियो।
जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी प्रहरी निरीक्षक लोकेन्द्रसिंह गुरूले पक्राउ पर्नेमा डडेल्धुराको अमरगढी नगरपालिका-८ का ३० वर्षीय सुरज घताने, १८ वर्षीय विशाल जाग्री र चालक २० वर्षीय महेश सार्की रहेको बताए। पक्राउ परेका तीनै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा राखिएको छ।