कैलालीको टीकापुर नगरपालिकामा वडा विभाजनबारे विवाद भएको छ । दलहरुबीच पटक पटक वडा एकलाई टुक्राएर ४, ५ र ६ वटा थप्ने छलफल भएको छ । तर पछिल्लो पटक वडा एकलाई ६ वटा वडा बनाउने सहमति भएको भनिए पनि वन गाउँका स्थानीयले नगरपालिकामा तालाबन्दी गरेपछि सहमति विवादमा परेको छ । त्यस्तै दुईलाई पनि टुक्राएर अर्को एउटा थप वडा बनाउने तयारी छ ।
अहिले टीकापुर नगरपालिकामा ९ वटा वडा छन् । ठूलो वडा रहेका एक र दुईलाई टुक्राउने दलहरुबीच सहमति भए पनि कतिसम्म वडा बनाउने टुङ्गो लागेको छैन । नेपाली कांग्रेसका क्षेत्रीय सभापति भुवनेश्वर अधिकारीले वडा विभाजन जस्तो गम्भीर विषयमा बृहत् छलफल हुनुपर्ने बताए ।
सबैका आ–आफ्नै समस्या, स्वार्थले समस्या पारेको एमालेका स्थानीय नेता श्याम खत्रीको भनाइ छ । राजनीतिक दलबीच सहमति भए पनि सबै दलमा आबद्ध युवाले नगरपालिकामा तालाबन्दी गरेकाले आज बस्ने नगर सभामा निर्णय हुनेरनहुने अन्योल छ । वडा नम्बर १ का वडाध्यक्ष गङ्गाराम आचार्यका अनुसार आज १ बजे नगर सभा बस्दैछ । नगर सभाको दुई तिहाइले पारित गर्नुपर्ने भएकाले जे अवस्था आउँछ त्यही हुने उनको भनाइ छ ।