काठमाडौँ – सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ ।
प्रतिनिधिसभा पुनःस्थापनाको फैसला गर्दै अदालतले १४६ सांसदले दायर गरेको रिटको आधारमा देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको हो । फैसलाअनुसार अबकाे दुई दिनभित्र देउवालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नुपर्नेछ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले आज सो फैसला सुनाएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत नपाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले ७६(५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि विश्वासको मत प्राप्त गर्ने आधार प्रस्तुत गर्न आहृवान गरेकी थिइन् । उक्त तोकेको समयमा देउवाले कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, एमालेको माधवकुमार नेपाल समूहका २६, जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षका १२ र राष्ट्रिय जनमोर्चाका एक गरी १४९ सांसदको हस्ताक्षर बुझाएका थिए ।
तर, ओलीको पनि दाबी परेको र दुवैकाे आधार नपुगेकाे भन्दै राष्ट्रपतिले मध्यरातमा मन्त्रिपरिषदको सिफारिसमा संसद विघटन गरेर चुनाव घोषणा गरेकी थिइन् ।