जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता विवादमा सनाखतका लागि निर्वाचन आयोगले कार्यकारी सदस्यहरुलाई नै उपस्थित हुन बोलाएको छ।
आयोगले साउन ११ गते ११ बजे नागरिकतासहित कार्यकारी सदस्यहरुलाई उपस्थित गराउने निर्णय गरेको हो। आयोगले सबै सदस्यहरुलाई सनाखतका लागि बोलाएको कार्यकारी सदस्य इस्तियाक राईले जानकारी दिए।
पार्टीको आधिकारिकता दाबी गर्दै उपेन्द्र यादवले निर्वाचन आयोगमा निवेदन दिएपछि अर्का अध्यक्ष महन्थ ठाकुरले पनि आफ्नो दाबी पेश गरेका थिए।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारलाई समर्थन गरेपछि महन्थ ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादव समूहबीच विवाद बढेको थियो ।
निरन्तर दुई सातासम्म एक अर्कामाथि कारबाहीको श्रृंखला चलाउँदै निर्वाचन आयोगसम्म पुगेका दुवै पक्षले अन्त्यमा मिल्ने नसकिने भन्दै आ–आफ्नो बाटो लाग्ने सहमति गरेका थिए ।
तर, विभाजित भए पनि पार्टी चाहिँ कसको पक्षमा रहने भन्ने विवाद कायमै छ। उपेन्द्र पक्षले भने केन्द्रीय कार्यकारिणीको बहुमत निर्णयसहित दाबी गरेको छ ।
यता महन्थले पनि पुस ७ गतेको निर्णयलाई नै आधार मानेर कार्यकारिणी समिति हेरफेर गरी आयोगमा विवरण बुझाएका छन्। जसपाको संसदीय दल र केन्द्रीय कार्यकारिणी समितिमा उपेन्द्र यादवकै बहुमत छ।