सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री लालबहादुर खड्काले कोरोनाको तेस्रो लहर रोकथाम तथा नियन्त्रणका लागि पूर्व तयारी थालिएको बताएका छन्।
शुक्लाफाँटा नगरपालिका १२ कालागौंडीमा बिहीबार बर्थिङ सेन्टरको उद्घाटन गर्दै उनले साधन स्रोतको कमीका कारण पनि तयारीमा जुटेको बताए।
कोरोनाको दोस्रो लहरका क्रममा सुदूरपश्चिम क्षेत्रमा धेरै युवाहरुले ज्यान गुमाउनु परेको उल्लेख गर्दै उनले तेस्रो लहरमा बालबालिका बढी प्रभावित हुने स्वास्थ्य विज्ञहरुले भनिरहेकाले त्यसै अनुरुप अस्पतालमा उपचारको पूर्व तयारीमा लागेको बताए।
‘प्रदेशका महाकाली, सेती र टीकापुर अस्पतालमा गरी तीन सय शैया थप गर्न लागेका छौं’ उनले भने, ‘जसमध्ये प्रत्येक अस्पतालमा बालबालिकाका लागि २५ वटाका दरले शैयाको व्यवस्था गरिएको छ।’
कोरोनाको संक्रमणबाट प्रदेशबासीलाई जोगाउनका लागि भ्याक्सीनको व्यवस्था गर्ने कार्य भइरहेको उनले बताए।
केही दिनअघि मात्रै प्रदेशमा तीन लाख ५० हजार कोरोना विरुद्धको भ्याक्सीन आएको चर्चा गर्दै उनले भ्याक्सीन भण्डारको कम क्षमता हुँदा समस्या रहेको बताए। उपलव्ध गराइएको भ्याक्सीन दुई चरणमा ल्याइएको बताए।
‘रोजगारीका लागि दैनिक सीमा नाका त्रिनगर र गड्डाचौकीबाट चारदेखि पाँच हजारको संख्यामा नेपाली नागरिक भारत तर्फ जान थालेका छन्’ उनले भने, ‘कोरोनाको संक्रमण बढेपछि एकै पटक धेरै जना फर्किने भएकाले त्यसलाई ध्यानमा राख्दै दुवै सीमा नाकामा एक हजार जना अटने होल्डिङ सेन्टर निर्माणको कार्य अगाडि बढेको छ।’