कञ्चनपुर – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मुक्त हलियालाई आत्मनिर्भर बनाउनका लागि योजनाबद्धरूपमा कार्यक्रम अगाडि बढाइने बताएका छन्।
सोमबार पुर्नवास नगरपालिका–९ सीताबस्तीमा १३औँ हलिया मुक्ति दिवसका अवसरमा उहाँले मुक्त हलिया परिवारलाई आयआर्जनसँग जोडेर स्वरोजगार बनाइने बताए।
स्वरोजगार कार्यक्रममा केही गर्नुपर्छ भन्ने भावना भएका युवालाई सहभागी गराउनुपर्नेमा जोड दिँदै उहाँले युवालाई स्वरोजगार बनाई नमूनाका काममा सङ्लग्न गराइने बताए।
राजनीतिक परिवर्तनसँगै जनताले विकासको अनुभूति गर्न पाएको धारणा अघि सार्दै उनले स–साना योजनाका लागि पनि पहिला देशकै राजधानीको मुख ताक्नुपर्ने अवस्थाको अन्त्य भएको बताए।
सुदूरपश्चिम सरकार गरिब जनताको सरकार भएकाले कमजोर वर्गका लागि काम गर्दै आएको उहाँको भनाइ थियो। राजनीतिक उपलब्धिलाई बचाइराख्नका लागि एकताबद्ध भएर सबैले अगाडि बढ्नुपर्ने उनले बताए। सीमा क्षेत्रमा बसोबास गर्ने जनताले जङ्गली जनावरबाट समस्या झेल्दै आएकाले त्यसको निदानका लागि ‘फेन्सिङ’ लगाउनका लागि बजेटको यथोचित व्यवस्था गरिने उनले बताए।