डोटी – सेती नदीले बर्सेनि यहाँका नागरिकको अकालमै ज्यान लिँदै आएको छ। एकको वर्षको अवधिमा सेती नदीले यहाँका सात स्थानीयवासीको ज्यान लिइसकेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार एक वर्षमा मात्रै सेती नदीमा नुहाउने क्रममा सातले अकालमै ज्यान गुमाइसकेका छन्। करिब ३९ वर्ष अघिदेखि ७५० मेगावाट क्षमताको जलविद्युत् उत्पादन गर्ने भनी ‘पश्चिम सेती’ का नामले चर्चामा रहेको सो नदीले बर्सेनि यहाँका स्थानीयवासीको अकालमै ज्यान लिने गरेको छ।
यसै क्रममा यही शुक्रबार मात्रै नुहाउने क्रममा सुदूरपश्चिम प्रदेश प्रहरी अस्पताल दिपायलका प्राविधिक प्रहरी नायब निरीक्षक खडग भुल्यालका १८ वर्षीय छोरा पवन बेपत्ता भएका छन्। उनको खोजीका लागि ठूलो सङ्ख्यामा प्रहरी टोली तथा स्थानीयवासी परिचालन भए पनि अहिलेसम्म भेटाउन सकेको छैन।
सेतीमा बर्सेनि स्थानीयवासीको अकालमै ज्यान जान थालेकाले नदी किनाराका बस्तीमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको दिपायल सिलगढी–४ का वडाध्यक्ष वीरेन्द्रबहादुर शाहले बताए। नदीमा मान्छे बेपत्ता हुनेदेखि नदी आसपासका बस्ती पनि नदी कटानको जोखिममा पर्दै आएका छन्। यहाँका दिपायल, समूहगाढ, कालागाढ, सिरखोलीसैन, भागेतडा, घोलतडा, नारिदाङ, बानीडुग्रीसैनलगायतका बस्ती निकै जोखिममा परेका छन्।