नेकपा एमालेको लुम्बिनी प्रदेश अध्यक्ष चुन्न आज निर्वाचन हुँदैछ। प्रदेशको नेतृत्व सहमतिमै टुंगो लगाउन अध्यक्ष केपी शर्मा ओलीले निर्देशन दिएपनि दुई बलिया दाबेदार राधाकृष्ण कँडेल र हरी रिजाल दुबैले पछि नहट्ने अडान लिएपछि निर्वाचन हुन लागेको हो।
प्रदेशको नेतृत्व चयनका लागि आइतबार रातिदेखि नै निर्वाचन प्रक्रिया सुरू भइसकेको छ। आज बिहान १० बजेसम्म मनोनयन दर्ताको समय राखिएको छ। अध्यक्षका दुई उम्मेदवार कँडेल र रिजालले आइतबार नै मनोनयन दर्ता गराइसकेका छन्।
अधिवेशनले लुम्बिनीमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलबीचको जुँगाको लडाइँ सतहमा देखिएको छ।
अध्यक्षका उम्मेदवार कँडेल पौडेल निकट हुन् भने रिजाललाई महासचिव पोखरेलको समर्थन छ। त्यहाँ अन्य पदाधिकारीका लागि पनि दुबै पक्षले आ(आफ्नो उम्मेदवार उठाउने आकलन छ।
एमालेको प्रमुख निर्वाचन आयुक्त हरि भण्डारीले आइतबार राती ८ बजेदेखि निर्वाचन प्रक्रियाको काम स्थगित गरी सोमबार बिहान १० बजेसम्म मनोनयनको समय थप गरिएको जानकारी दिए।
अध्यक्ष लगायत उपाध्यक्ष, सचिव, उपसचिव सदस्य सबै पदमा आवश्यक संख्याभन्दा धेरैको उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ।
सोमबार मनोनयनको काम सकिएपछि मतदान सुरू गरिने प्रमुख निर्वाचन आयुक्त भण्डारीले बताए।
अधिवेशनबाट अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिवसहित २०५ सदस्यीय प्रदेश कमिटी निर्वाचित हुने छ।