कैलालीको धनगढीमा अपाङ्गता र लैङ्गिक उत्तरदायी नीति तथा बजेट कार्यक्रम तर्जुमा बारे स्थानीय समन्वय समितिलाई २ दिने तालिम सम्पन्न भएको छ ।
राष्ट्रिय अपाङ्ग महासङ्घ सुदूरपश्चिम प्रदेशको आयोजनामा आइतबार देखी रुवस होटेलमा सुरु भएको कार्यक्रममा कैलालीका स्थानीय समन्वय समितिमा रहेका प्रमुख तथा पदाधिकारीहरूलाई अपाङ्गता क्षेत्रमा गर्नुपर्ने काम कर्तव्यबारे तालिम दिइएको हो ।
राष्ट्रिय अपाङ महासङ्घ सुदूरपश्चिम अध्यक्ष मानबहादुर साउदले संविधानमा लेखिएका हक अधिकारको कार्यान्वयनमा जोड दिइनुपर्ने बताए । ‘हामीहरुका लागि हाम्रा अधिकार कालो अक्षर मात्र भएको छ। वनेका नीति नियमहरू पनि कार्यान्वयनमा नआउँदा हामीले अधिकार पाउन सकिरहेका छैनौँ,’साउदले भने ।
तालिममा सहभागीहरूलाई राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला सङ्घ नेपालका अध्यक्ष एवं त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रतिमा गुरुङ र तालिमका मुख्य प्रशिक्षक एवं अधिकारकर्मी कृष्ण गहतराजले प्रशिक्षण दिएका थिए ।
तालिममा कैलारी गाउँपालिका, भजनी नगरपालिका, मोहन्याल गाउँपालिका, गोदावरी नगरपालिकाका साथै अपाङ्गता क्षेत्रमा काम गरिरहेका संघसंस्थाहरुको सहभागिता रहेको छ ।
तालिम पश्चात् भजनी नगरपालिका उप–प्रमुख,गोदावरी नगरपालिका उप–प्रमुख र कैलारी गाउँपालिका उपाध्यक्षले आगामी आर्थिक बर्षमा अपाङ्गता र लैङ्गिक उत्तरदायी नीति तथा बजेट प्रभावकारी ढङ्गले राख्ने प्रतिबद्धता जनाए ।
कार्यक्रमको उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले अपाङ्गता भएका नागरिकले संविधान प्रदत्त आफ्ना हक अधिकार पाउन पनि आन्दोलन गर्नुपर्ने अवस्थाप्रति दुख व्यक्त गरेका थिए ।
कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका सचिव पदमराज जोशीले अपाङ्गताका सवाललाई सोह्रौँ आवधिक योजनामा समेट्ने बताए । यस्तै आन्तरीक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव बिश्वदीप बेस्राले प्रदेशमा अपाङ्तासम्बन्धिको नीति तयार भइसकेको र चालु अधिवेशनमा टेबुल गर्ने तयारी भइरहेको जानकारी दिएका थिए । तालिममा कैलारी गाउँपालिका, भजनी नगरपालिका,गोदावरी नगरपालिकाका सरोकारवालाहरूको सहभागिता रहेको थियो ।