धनगढी, २७ माघ २०८२
सुदूरपश्चिम प्रदेशको प्रमुख व्यापारिक केन्द्र धनगढीमा स्वास्थ्य सेवालाई थप गुणस्तरीय र सर्वसुलभ बनाउने उद्देश्यका साथ ३० करोड रुपैयाँको लगानीमा ‘केयरटेकर अस्पताल प्रा.लि.’ औपचारिक रूपमा सञ्चालनमा आएको छ। विगतमा सञ्चालित स्वस्तिक कार्डियो अस्पताललाई नयाँ व्यवस्थापन र परिमार्जित स्वरूपसहित ‘केयरटेकर’ नामबाट सञ्चालनमा ल्याइएको हो।
मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै अस्पतालका अध्यक्ष गोपाल बहादुर शाहीले शुभ साइतमा अस्पतालको औपचारिक शुभारम्भ गरिएको जानकारी दिनुभयो। सरकारी अस्पतालमा हुने अत्यधिक भीड र निजी अस्पतालको महँगो शुल्कका कारण उपचारबाट वञ्चित हुनुपर्ने नागरिकको बाध्यता अन्त्य गर्न यो अस्पतालले एउटा मजबुत पुलको काम गर्ने लक्ष्य लिएको छ।

अध्यक्ष शाहीका अनुसार अस्पतालमा उपचार खर्च सरकारी अस्पताल सरह किफायती राखिएको छ भने सेवा र प्रविधि अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक निजी अस्पतालको जस्तै छ। हाल १०० शैयाको क्षमता रहेको यस अस्पतालमा अन्तर्राष्ट्रिय मापदण्ड अनुरुपको अत्याधुनिक ‘मोडुलर अपरेसन थिएटर’ (Modular OT) जडान गरिएको छ, जसले संक्रमण नियन्त्रणमा उच्च सतर्कता अपनाउँदै सुरक्षित शल्यक्रिया सुनिश्चित गर्दछ।
अस्पतालले २४ सै घण्टा आकस्मिक सेवाका साथै जनरल मेडिसिन, स्त्री तथा प्रसूति, हाडजोर्नी, मेरुदण्ड तथा नशा रोग, मुटुरोग, न्युरो र युरो सर्जरी जस्ता जटिल विषयका विशेषज्ञ सेवाहरू प्रदान गरिरहेको छ। १ बिघा क्षेत्रफलमा फैलिएको अस्पताल परिसरमा पर्याप्त पार्किङ, हरियाली वातावरणसहितको पार्क र बिरामीको सहजताका लागि पूर्ण रूपमा एसी (AC) को व्यवस्था गरिएको छ।
भविष्यको योजनाबारे जानकारी दिँदै अध्यक्ष शाहीले अस्पताललाई स्वास्थ्य शिक्षाको केन्द्र बनाउन नर्सिङ कलेज र हेल्थ असिस्टेन्ट (H.A.) को अध्ययन कार्यक्रम सुरु गर्ने तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो। साथै, निकट भविष्यमै सिटी स्क्यान (CT Scan) मेसिन जडान गर्ने र क्यान्सर, मुटु (Cardio) तथा आईभीएफ (IVF) विभागहरू थप गरी कुल लगानीलाई एक अर्ब रुपैयाँ पुर्याउने लक्ष्य राखिएको छ।
अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत ग्रामीण क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गर्ने र पैसाभन्दा पहिला मानव जीवनलाई प्राथमिकता दिँदै उपचारमा पूर्ण पारदर्शिता अपनाउने प्रतिबद्धता व्यक्त गरेको छ।


