सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मतका लागि प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराए सँगै सरकारको भविष्यबारे भोलि छिनोफानो हुने भएको छ । एमाले केन्द्रीय कमिटीले सरकारको समर्थन फिर्ता लिने निर्णय गरे पछि अल्पमतमा परिएको भन्दै मुख्यमन्त्री भट्टले आइतबार साँझ ५ बजेपछि प्रदेशसभा सचिवालयमा पत्र पठाएका थिए ।
उनले सोमबार नै विश्वासको मत लिने तयारी गरे पनि प्रदेशसभा नियमावलीले पत्र दर्ता भएको कम्तीमा ४८ घण्टापछि मात्रै प्रदेशमा पेस हुने व्यवस्था गरेको छ । सोमबारको कार्य व्यवस्था परामर्श समितिमा उक्त नियम नै निलम्बन गरेर समेत विश्वासको मत लिइहाल्न खोज्दा काँग्रेसले रोकेको छ। काँग्रेसको विरोधपछि मङ्गलवार विश्वासको मतका लागि सरकारले तयारी थालेको छ ।
मङ्गलवार मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत पाउनेमा पूर्ण विश्वस्त रहेको माओवादीका प्रमुख सचेतक अक्कल रावलले बताए ।
‘एमालेले समर्थन गर्छ ।एमालेभित्रको माधव नेपाल पक्ष बाहिरिए काँग्रेसले साथ दिन्छ,उनले भने,‘मुख्यमन्त्रीले विश्वासको मत पाउनु हुन्छ।’
५२ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा एमालेका २४ माओवादीका १३, काँग्रेसका १२ र जनता समाजवादी पार्टी जसपाका २ जना सांसद छन् । अहिले एमाले र माओवादीको गठबन्धन सरकार छ ।विश्वासको मत लिन २७ संसद्को समर्थन चाहिन्छ । माधव नेपालका सांसदहरूले मुख्यमन्त्रीलाई भोट दिए सरकार जोगिने अवस्था छ ।