डोटी – जिल्ला प्रशासन कार्यालय डोटीले गरेको छड्के अनुगमनका क्रममा सात सवारी साधन कारबाहीमा परेका छन् । निषेधाज्ञाको समयमा जिल्लामा सञ्चालित सवारी साधनबाट यात्रु ठगिन थालेपछि जिल्ला प्रशासन कार्यालय डोटीले छड्के अनुगमन थालेको हो।
सवारीसाधनले मनपरी तरिकाले भाडा असुल्ने गरेको व्यापक जनगुनासो पछि गरिएको अनुगमनमा ५ हाइस र २ बस कारबाहीमा परेका हुन् । डोटीका प्रमुख जिल्ला अधिकारी सुनिल खनालका अनुसार,’निषेधाज्ञा उलङ्घन गरेका ४ र यात्रुलाई टिकट नदिएका ३ सवारीसाधनलाई कारबाही गरेका छौँ ।निषेधाज्ञा उलङ्घन गरेका सवारीसाधनलाई पाँच हजार र यात्रुलाई टिकट नदिने सवारी साधनलाई एक हजार पाँच सयका दरले जरिवाना तिराएका छौँ ।’
प्रमुख जिल्ला अधिकारी खनालको अध्यक्षता सोमबार बसेको सरोकारवालाहरूको बैठकले जिल्लामा यात्रुहरूको आवागमनलाई सहज सुरक्षित र व्यवस्थित बनाउने निर्णय अनुसार छड्के अनुगमन गरिएको प्रशासन जनाएको छ। जरिवानाबाट चौबीस हजार पाँच सय रुपैयाँ सङ्कलन भएको छ।