सुदूरपश्चिम प्रदेशमा आइतबार थप ३ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार २२५ जनाको एन्टिजेन र ६९ जनाको पिसिआर परीक्षण गर्दा २३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
आइतबार सुदूरपश्चिमका नाका भएर ६६६ जना स्वदेश फर्केका हुन् । उनीहरुमध्ये ४७ जना भारतबाट फर्केका नागरिक रहेको स्वास्थ्य निर्देशनालय दीपायलले जनाएको छ ।
योसँगै सुदूरपश्चिममा ४ हजार ७४३ जना कोरोनाका सक्रिय संक्रमित पुगेका छन् । यस्तै, आइतबार २ जनाको मृत्यु भएको छ । धनगढीको सेती अस्पतालमा उपचाररत कैलालीकी एक महिला र कञ्चनपुरका पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।
कैलालीको गौरीगंगा नगरपालिकाकी ६५ वर्षीया महिलाको आइतबार बिहान मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।