बेसरी पेट दुखेपछि धनगढीकी शारदा चन्दले घरछेउकै मेडिकलमा गएर औषधी सेवन गरिन् । एक साता औषधी खाँदा पनि केही समय निको भए जस्तो हुने तर समस्या उस्तै । मेडिकलको औषधीले समस्या समाधान नभए पछि चन्द अस्पताल पुगिन् ।
नाइटोको माथिल्लो भागदेखि लिएर पेटको दायाँ भागमा दुखाइ खपी नसक्नु थियो । अस्पतालमा चेकजाँच पश्चात् एपेन्डिसाइटिस पुष्टि भयो । अपरेसन पश्चात् अहिले उनी विशेषज्ञ डाक्टरले दिएको औषधी नियमित सेवन गरिरहेकी छिन् ।
धनगढी फुलवारिकी रिता थापा पनि स्वास्थ्यमा समस्या आउँदा हत्तपत्त अस्पताल जाँदिन । खुट्टा देखी टाउको सम्म समस्या आउँदा पनि मेडिकलकै औषधीको भरमा पर्छिन् उनी । ‘अस्पताल गयो भने खर्च धेरै आउँछ । डाक्टरले मुख हेरेकै ५ सय देखी एक हजार रुपैयाँ लिन्छन् । फेरी औषधी पनि ल्याउँदा खर्च अधिक आउँछ । त्यो भन्दा त मेडिकलमा जाँदा खर्च कम हुन्छ,’थापाले भनिन् ।
एक वर्ष अघिको भोगाइ सम्झिँदै उनी भन्छिन्,‘सानो तिनो समस्या आउँदा त अस्पताल जाने गरेको छैन । बिरामीले अत्यधिक च्यापेको अवस्थामा मात्रै बाध्य भएर अस्पताल जान्छु । गत वर्ष मलाई जरोले एक साता थला पा¥यो । मेडिकलबाट औषधी ल्याएर खाँदा पनि ठिक नभए पछि अस्पताल गए डेंगु भएको रहेछ । अस्पताल गएपछि मात्रै ठिक भयो।’
शारदा र रिताको त प्रतिनिधि घटना मात्र हुन् । स्वास्थ्यमा समस्या आउँदा चिकित्सकीय परामर्श विनै औषधी सेवन गर्नेहरूको सङ्ख्या सुदूरपश्चिममा बढ्दै गएको छ ।
नागरिक अगुवा शरद खड्का भन्छन्,‘ हामीकहाँ स्वास्थ्यमा सानोतिनो गडबडी हुनसाथ औषधी किनिहाल्ने र चपाइहाल्ने बानी छ । चिकित्सकको परामर्श बिना वा स्वास्थ्य जाँच नगरी सोझै औषधी पसलमा गएर औषधी माग्ने र खाने चलन व्यापक छ ।
औषधी के हो ? त्यसले शरीरमा कसरी प्रभाव पार्छ ? किन, कुन समयमा र कसरी सेवन गर्नुपर्छ ? भन्ने आधारभूत ज्ञान हामी सँग छैन। एन्टिबायोटिकको गलत प्रयोगले घातक समस्या देखिन थालेको छ।’
स्वास्थ्यमा समस्या आउँदा औषधी पसलमा गएर किनेर औषधी खाने प्रवृत्तिका कारण रोगहरू झनै जटिल हुँदै गइरहेको चिकित्सकहरू बताउँछन् । बिरामी हुँदा आफूखुसी गरिने औषधी सेवनले रोगलाई नियन्त्रणमा ल्याउन गाह्रो हुने अवस्था आउँछ। त्यसैले बिरामी हुँदा सबैभन्दा पहिला चिकित्सकको सल्लाह लिनु नै उपयुक्त हुन्छ। आफैँ औषधी खाएर अस्पताल जानुपर्ने अवस्था आयो भने
त्यसले एकातिर खर्च बढाउँछ भने अर्कोतिर समय पनि बरबाद हुन्छ,’कन्सल्टेन्ट फिजिसियन डाक्टर प्रभात शाहले भने ।
उनका अनुसार ‘शारीरिक समस्या ब्याक्टेरियाको कारणले पैदा भएको हो भन्ने पत्ता लागेपछि मात्रै एन्टीवाइटीक प्रयोग गर्ने हो । यसको जथाभाबी प्रयोगले ब्याक्टेरियाको क्षमता विकास हुन्छ । यस्तो हुँदा अन्य औषधीले काम नगर्ने समस्या पनि देखिन्छ ।ब्याक्टेरियाले आफ्नो कोशिका बदलेपछि एन्टीवाइटीक काम गर्दैन त्यस पछि समस्या बल्झिन्छ। एन्टिबायोटिक्स नराम्रो हैन यसको गलत प्रयोग ग¥यो भने स्वास्थ्यमा हानी पु¥याउछ । यो औषधी चलाएपछि पुरा डोज लिनुपर्छ । अन्यथा समस्या झन् बढ्छ।’
जथाभाबी औषधि प्रयोग गदा रोग निको पार्न कठिन हुनेदेखि बिरामी बचाउनै कठिन हुने गरेको चिकित्सकहरूको भनाइ छ।
औषधीको गलत प्रयोग गर्ने बिरामीहरूलाई बढी डोजसहित सुई दिनुपर्ने, लामो समय अस्पतालमै भर्ना गर्नुपर्ने र बिरामीको ज्यानै समेत गइरहेको उनीहरूको भनाई छ ।
‘एन्टिबायोटिक्स लिइसकेपछि त्यसको निश्चित डोज पुरा गर्नै पर्ने हुन्छ । तर,मनोमानी ढङ्गले प्रयोग गर्छौ ।अनि आफ्नो समस्या ठिक भइसकेपछि औषधीको डोज पुरा नगरी छाडिदिन्छौ। यसले गर्दा समस्या थप विकराल हुँदै छ,’ कन्सल्टेन्ट फिजिसियन डाक्टर अरुण चौधरी भन्छन् ।
एन्टीबायोटिक्सका कारण पखाला, दिशा लाग्नु,मिर्गौलामा असर पार्ने,कानमा असर शरीरमा रोग प्रतिरोधी क्षमतामा ¥हास आउने लगायतका साइड इफेक्ट देखिने गरेको चौधरी बताउँछन् ।
चिकित्सकहरूको परामर्श विनै एन्टीबायोटिक्स प्रयोग नगर्न उनले आग्रह गरे । ‘सही प्रयोग हुन सके फाइदा धेरै छन् ।सही प्रयोग नभएको खण्डमा यसको बेफाइदा धेरै छन् । अझ भावी पुस्तामा यसको असर धेरै हुन सक्ने देखिएको छ । समयमै एन्टीबायोटिक्स नखानु, डोज पूरा नगर्नु । त्यस्तै, एन्टीबायोटिक्स प्रयोग गर्दा यसले शरीरमा भएको कुनै न कुनै कोसीकालाई असर पार्ने हुँदा यसका साइड इफेक्टस् धेरै हुने गर्दछ ।त्यसैले चेकजाँच पछि चिकित्सकहरूको सल्लाह अनुसार मात्र एन्टीवाइटीकको प्रयोग गरौँ,’डा.चौधरीले भने ।