कञ्चनपुर,९ जेठ – आसपासका गाउँमा केही सहयोग चाहिए सबैले उनलाई नै सम्झन्थे । गाउँमा ढुवानीको साधन उनको ट्रक मात्रै थियो । कसैको मृत्यु भए महाकाली घाटसम्म लैजान उनकै खोजी हुन्थ्यो । यो २०५४ तिरको कुरा हो । उनले घाटसम्म शव पुर्याएबापत कसैबाट पैसा लिँदैनथे ।
झन्डै अढाई दशकदेखि समाजसेवा गरिरहेका कञ्चनपुरको वेदकोट–७ सुडाका पवनविक्रम सिंह अहिले पनि शव जलाउन दाउरा माग्न आउनेलाई निःशुल्क दिन्छन् । पछिल्लो समय कोरोना संक्रमणका कारण जिल्लामा मृत्यु हुनेको संख्या बढेको छ । शव जलाउने दाउराका लागि सिंहको काठ मिलमा आउनेहरू पनि बढेका छन् । कञ्चनपुर सदरमुकाम महेन्द्रनगरबाट ५ किमी पूर्व वेदकोटको सुडामा उनको काठ चिरानीको मिल पूर्व–पश्चिम राजमार्ग छेउमै छ । शव जलाउन दाउरा चाहियो भन्दै लागि आउने जो कोहीबाट पनि उनी पैसा लिँदैनन्, कसैले पैसा दिन खोजे दाउरा नै दिँदैनन् ।
‘सुरुमा ट्रकमा शव बोक्दा तिर्न नसक्नेबाट पैसा लिँदैनथे, अहिले दाउरा निःशुल्क उपलब्ध गराउँछु,’ सिंहले भने, ‘कोरोनाले धेरै मर्न थाले । दाउरा माग्न आउनेको पनि चाप पनि बढेको छ ।’ दैनिक ४/५ शवका लागि दाउरा माग्न आउनेहरू हुन थालेका छन् । दाउराप्रति क्विटल एक हजारमा बिक्री हुन्छ । एउटा शवका लागि ४/५ क्विन्टल दाउरा आवश्यक पर्छ । ‘कोही पैसा नतिरेर नलैजाने पनि हुन्छन्, उनीहरूलाई अर्को मिलबाट लैजानुस् भनेर पठाउँछु,’ सिंहले भने, ‘कतिपय आफन्तका आत्माको शान्तिका लागि भए पनि अलिकति पैसा दिएर जान्छन्, त्यो पैसा पनि म राख्दिनँ ।’ त्यसरी आएको पैसा ब्राह्मण वा अनाथहरूलाई दिने गरेको उनले बताए । ‘महिनामा ५०/६० वटा शव जलाउन दाउराका लागि आउँछन्,’ उनी भन्छन्, ‘तिनीहरूलाई दाउरा दिन म आफैं खटिन्छु ।’
गत साता एकै दिन १० शवका लागि दाउरा लिनेहरू आएको उनले बताए । गत साता जिल्लामा एकै दिन कोरोनाबाट १५ जनाको मृत्यु भएको थियो । ‘दाउरा लिन कोही नआएको दिन निकै खुसी लाग्छ,’ उनले भने, ‘कहिले दुईरतीन दिनसम्म पनि कोही आउँदैनन्, मृत्यु कम भएकोमा आनन्द महसुस गर्छु ।’ ढुवानीको साधनको खर्च तिर्न नसक्नेका लागि उनी आफ्नै साधन पनि पठाउँछन् । २०७२ को भूकम्पमा उनले अर्का व्यवसायी घनानन्द लेखकसंँग मिलेर काठमाडौं दाउरा पठाएका थिए । उनले पशुपति क्षेत्र विकास कोषलाई उक्त दाउरा हस्तान्तरण गरेका थिए । पेसाले निर्माण व्यवसायी सिंहले बुबा यमबहादुरको मिल चलाएका छन् । साभारः कान्तिपुर