अत्तरियामा रहेको सुप समावेशी आधारभूत विद्यालयलाई खाद्यान्न सहयोग गरिएको छ । मेडिकल ल्यावोरेटरी एसोसिएसन अफ नेपाल (मेलान) को १६ औ स्थापना दिवसको अवसर पारी मेलान कैलालीले विद्यालयमा रहेका अपाङ्गता भएका बालबालिकाहरूका लागी करिब ९ हजार बराबरका खाद्यान्न सहयोग गरिएको कुरा मेडिकल ल्यावोरेटरी एसोसिएसन अफ नेपाल (मेलान) कैलालीका अध्यक्ष मीन बहादुर धामीले बताए ।
‘सम्पूर्ण स्वास्थ्य प्रयोगशालाकर्मीहरूको एउटै चाहना गुणस्तरीय जन पक्षीय व्यवस्थित तथा व्यवसायीक स्वास्थ्य प्रयोगशालाको स्थापना’ भन्ने मुलनाराका साथ स्थापना भएको मेलानले विद्यालयलाई चामल, दाल, तेल, मसला, सोडा साबुन, हार्पिक, नुन, भुजा लगायतका सामाग्री सहयोग गरेको कुरा मेडिकल ल्यावोरेटरी एसोसिएसन अफ नेपाल (मेलान) कैलालीका कोषाध्यक्ष महेन्द्र बहादुर साउदले बताए ।
सहयोग गरिएको सामग्री मेलानका अध्यक्ष मीन बहादुर धामीले विद्यालय का संस्थापक अध्यक्ष मान बहादुर साउदलाई हस्तान्तरण गरेका थिए । सामग्री वितरण कार्यक्रममा मेलानका अत्तरिया र धनगढीका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।
विद्यालयलाई आवश्यक परेका बेला पटक पटक मेलान कैलालीले सहयोग गर्दै आएको बताउँदै विद्यालयका अध्यक्ष साउदले विद्यालय परिवारको तर्फबाट मेलानलाई धन्यवाद ज्ञापन गरे ।