पहिरोले खानेपानीको पाइपमा क्षति पुगेपछि दोगडाकेदार गाउँपालिका–७ चडेपानीका २०० घरपरिवार खानेपानीबाट बञ्चित भएका छन्।
गत शुक्रबार गएको पहिरोले बैतडीको सुर्नया गाउँपालिका–३ धरमघरमा खानेपानी संरचनामा क्षति पुर्याएको खानेपानी आयोजनाका अध्यक्ष लक्ष्मीदत्त भट्टले बताए। ‘पहिरोले खानपानीको पाइप फुटेर मेनलाइनमा क्षति पुर्याएको छ,’ उनले भने, ‘गाउँमा खानेपानीको हाहाकार भएको छ।’
पहिरोले करिब ४०० मिटर पाइममा क्षति पुर्याएको भट्टले बताए। २० किलोमिटर टाढाको मुहानबाट लगिएको खानेपानीको मेनलाइनमा क्षति पुगेपछि गाउँमा समस्या भएको स्थानीय केशव भट्टले बताए। ‘गाउँमा आउने एक मात्र खानेपानी योजना हो, त्यो पनि अवरुद्ध भयो,’ उनले भने, ‘खानेपानीका साथै सरसफाइमा समेत समस्या भएको छ।’
खानेपानी सञ्चालनका लागि पहल भइरहेको चडेपानी खानेपानी उपभोक्ता समितिले जनाएको छ।