कोरोनाका कारण अध्ययन गर्न नपाउँदा समस्या भएको भन्दै डोटीका तीन स्थानीय तहका एकहजार ९१ जना बालबालिकालाई स्व–अध्ययन सामग्री वितरण गरिएको छ ।
सामुदायिक विकास केन्द्र डोटी र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त साझेदारीमा सञ्चालन भइरहेको कभर दुई परियोजनाले यहाँका पूर्वीचौकी गाउँपालिका–१ मा चार सय ४८ जना, सायल गाउँ पालिका–४ र ५ मा चार सय ७६ जना तथा आदर्श गाउँपालिका–१ मा एक सय ६७ गरी एक हजार ९१ जना बालबालिकाहरुलाई अध्ययन सामग्री प्रदान गरिएको सामुदायिक विकास केन्द्रका परियोजना संयोजक टंक जोशीले जानकारी दिनुभयो ।
उहाँका अनुसार कोरोनाको समयमा विद्यालय बन्द रहेका र विद्यार्थीले नयाँ पाठ्यपुस्तक पनि नपाएको र पढाइ पनि हुन नसकेकामा उनीहरुको सिकाइ तथा पढाइ निरन्तरका लागि स्व–अध्ययन सामग्री वितरण गरिएको हो । बाल विकासदेखि कक्षा ५ सम्मका विद्यार्थीहरुलाई प्रदान गरिएका सामग्रीहरुमा स्व–अध्ययन पुस्तक, कापी, पेन्सिल, इरेजर, साइनपेन रहेका छन् ।
यसैगरी जिल्लाकै सायल, आदर्श, पूर्वीचौकी र दिपायल सिलगढीका सात हजार पाच सय जना बालबालिकालाई स्व–अध्ययन सामग्री वितरण गर्ने योजना रहेको सामुदायिक विकास केन्द्रले जनाएको छ ।