घोडाघोडी नगरपालिका ८ मा रहेको भैरव आधारभूत विद्यालय अतिक्रमणको चपेटामा परेको छ । कान्द्रानदीले बर्सेनि कटान गर्दै जाँदा विद्यालयको नाममा रहेको करिब १० कट्टा बढी जमिन बगिसकेको छ । तर नदी कटान रोक्न विद्यालय प्रशासनले ध्यान दिएको छैन । विद्यालयको हाता भित्र रहेको लठुवा सामुदायिक वनको घाटगद्धीपनि बग्ने अवस्थामा पुगेको छ ।
‘घाटगद्धी रहेको स्थानबाट दुई मिटर सम्म नदीले कटान गरिसकेको छ,दैनिकरुपमा कटान भइरहेको छ’,वनका अध्यक्ष रण बहादुर बड्वालले भने,‘कटान रोक्न कसैले चासो नदिए वनको भवन,स्कुलको सबै जग्गा र विद्यालयको भवन नै बग्छ।’
नदी कटान रोक्न तटवन्धन र नदीको धार परिवर्तन गरी दिन आग्रह गर्दै घोडाघोडी नगरपालिकालाई पटक पटक ताकेता गर्दा पनि कुनै सुनुवाइ नभएको अध्यक्ष वडवालले बताए ।
‘हामीले पटक पटक नगरपालिकाको ध्यानाकर्षण गरिसकेका छौँ,तर पनि कसैले ध्यान दिएका छैनन्,उनले भने,‘यसरी नै कटान हुने हो भने यहाँ केही पनि बाँकी रहन्न।’