कालिकोटमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने जिपमा सवार ११ जना यात्रु घाइते भएका छन् ।
सान्नित्रिवेणी गाउँपालिका–३ आमतडास्थित सडकमा क.१ज २३ नम्बरको जिप आफैँ अनियन्त्रित भई सडकबाट करिब ७ मिटर तल खसेर आइतबार बिहान दुर्घटना भएको हो ।
जिपका चालक सोही गाउँपालिका–१ बस्ने २२ वर्षीय विक्रम गिरीको घटनास्थलमै मृत्यु भएको छ ।
अस्थायी प्रहरी पोस्ट सान्निघाट र जिल्ला प्रहरी कार्यालय कालिकोटबाट खटिएको प्रहरीले दुर्घटनामा घाइते भएका ११ जनालाई उद्धार गरी रास्कोट अस्पतालतर्फ पठाएको छ ।
घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।