काठमाडौँ ,जेठ, ५ -बुधबार शेयर बजारमा करेक्सन देखिएको छ । मंगलबार रेकर्ड ब्रेक गर्दै हालसम्मकै उच्च २ हजार ७९३.८१ बिन्दुमा पुगेको बजारमा आज १३.०९ अङ्कको करेक्सन आउँदा २ हजार ७८०.८१ बिन्दुमा नै खुम्चिएको छ । यद्यपि बजार ओपनिक समयमा नै बढेर २ हजार ८२० बिन्दुमा पुगेको बजार बन्द हुने समयसम्म ०.४७ प्रतिशतले घटेको हो ।
बजार बढेपछि नाफा बुक गर्नका लागि बिक्री चाप बढ्दा बजार घटेको विश्लेषकहरू बताउँछन् । सामान्य घटेको बजारमा आज कारोबार रकमले भने रेकर्ड ब्रेक गरेको छ ।
मंगलबार शेयर बजारमा हालसम्मकै सर्वाधिक बढी ११ अर्ब ३५ करोड ९३ लाख ६० हजार रुपैयाँ बराबरको कारोबार भएकोमा आजको कारोबार रमले उक्त रेकर्डलाई ब्रेक गरेको हो । यो दिन ११ अर्ब ९५ करोड ८० लाख ९७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
बुधबार २१४ ओटा कम्पनीको एक लाख ३२ हजार ३६९ पटकको व्यापारमा २ करोड ५१ लाख २१ हजार ५५४ कित्ता शेयर खरिदबिक्री भएको छ ।
यसदिन ठूला तथा बलिया कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.०८ प्रतिशतले घटेर ४९६.१५ बिन्दुमा झरेको छ ।
घटेको बजारमा आज समता घरेलु लघुवित्तको शेयरमूल्य सर्वाधिक बढी ९.९९ प्रतिशतले बढेको छ भने रुरु जलविद्युत परियोजना, गोर्खाज फाइनान्स, नेपाल फाइनान्स र कर्णाली डेभलपमेन्ट बैंकको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले घटेको छ । यसैगरी आज न्याग्दी ग्रुप पावरका लगानीकर्ताहरुले सबैभन्दा बढी ६.८८ प्रतिशतले गुमाएका छन् ।
यसैगरी आजको कारोबार रकममा पनि सर्वाधिक हिस्सा नेपाल पुनर्बीमा कम्पनीको रहेको छ । आज उक्त कम्पनीको शेयर कारोबार रकम ५५ करोड ६९ हजार रुपैयाँ रहेको छ । यसैगरी आज नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ४५ करोड ३४ लाख ७३ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।