कैलालीको गोदावरी नगरपालिका भित्र नदीजन्य पदार्थ उत्खननमा रोक लगाइएको छ । बर्खायाम सुरु भएसंगै नेपाल सरकारको निर्णय अनुसार नगरपालिकाभित्रका विभिन्न नदी तथा खोलावाट हुदै आएको नदीजन्य पदार्थको उत्खनन् तथा संकलन कार्यमा रोक लगाइएको हो ।
नगरपालिकाले एक सुचना जारी गर्दै विगतका बर्षझै यस बर्ष पनि असार, साउन र भदौ गरी ३ महिनासम्म नगरपालिका क्षेत्रमा रहेको नदी तथा खोलाहरुवाट ढुगां, गिट्टी, बालुवा, ग्राभिल लगायतका नदीजन्य पदार्थको उत्खनन र संकलन कार्य पूर्ण रुपमा बन्द गरिएको जानकारी गराएको छ ।
बन्दको समयमा नदीजन्य पदार्थ बोकेको ट्याक्टर भेटिएमा पहिलो पटक ६ हजार, टिप्पर भेटिएमा पहिलो पटक ८ हजार, स्काईभेटर जेसिबि भेटिएमा १० हजार र खोलामा गई थुप्रो बनाउने ब्यक्ति भेटिएमा १ सय रुपैया जरिवान गरिने सुचनामा उल्लेख गरिएको छ । दोस्रो पटक भेटिएमा पहिलो पटकको जरिवानाको ५० प्रतिशत थप गरिने, तेस्रो पटक भेटिएमा पहिलो पटकको शत प्रतिशत थप गरिने र फेरि चौथो पटक पनि भेटिएको खण्डमा गाडीलाई नै जफत गरिने भएको छ ।