पाकिस्तानको बलुचिस्तान प्रान्तमा बिहीबार बिहानै आएको शक्तिशाली भूकम्पमा परी कम्तीमा २० जनाको ज्यान गएको छ । हरनेई क्षेत्रमा बिहान करिब ३ः३० बजे आएको ६ रेक्टर स्केलको भूकम्पले कम्तीमा २० को ज्यान लिएको हो । ज्यान जानेमा एक महिलासहित ६ बालबालिका पनि हुन् ।
अमेरिकी भूकम्पमापन सर्भेका अनुसार उक्त भूकम्प जमीनदेखि २०.८ किलोमिटर मुनि नापिएको थियो । भूकम्पपछि उद्दारकार्य तीव्र पारिएको छ । मृतकको आँकडा अझै बढ्न सक्ने जनाइएको छ ।
अधिकारीहरुका अनुसार भूकम्पको झड्का बलुचिस्तान, क्वेटाको सिबी, पिशिन, मुस्लिम बाग, किला सैफुल्ला, कचलक, हरनई लगायतका क्षेत्रमा महसुस गरिएको थियो । कयौं क्षेत्रमा मानिसहरु घरबाहिर निस्केर सडकमा बसेका छन् ।
भूकम्पपछि अस्पतालहरुमा आपतकाल लागू गरिएको छ । भूकम्पले दर्जनौं घर तथा सरकारी भवनहरु चर्किएसँगै मर्नेहरुको आँकडा बढ्न सक्ने बताइएको छ । थुप्रै घर भत्किएका छन् ।
पर्खाल ढलेर किचिएरसमेत थुप्रैको ज्यान गएको छ भने दुई सय बढी घाइते भएका छन् ।
कोइलाखानीमा काम गर्ने चार मजदूरले त्यहीँ फसेर ज्यान गुमाएका छन् । हरनाई र शहराग शहरमा घरका छत र पर्खाल ढलेर मानिसहरुको ज्यान गएको छ ।