बाजुरामा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । बाजुराको खप्तड छेडेदह गाउँपालिका २ का ५२ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य कार्यालय बाजुराका सूचना अधिकारी लेखनाथ न्यौपानेले जानकारी दिए ।
न्यौपानेका अनुसार उपचारका लागि भारत गएका ती पुरुषको गौरीफन्टा नाकामा परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । उनको आज मृत्यु भएको हो । उपचारपछि घर फर्किएका उनी संक्रमण देखिएपछि होम आइसोलेसनमा थिए ।
स्थानीयले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर दाहसंस्कार गरिएको बताइएको छ । उनका आफन्त होम आइसोलेसनमा छन् । बाजुरामा हाल ११ जना सक्रिय संक्रमित छन् । जसमध्ये बडीमालिका नगरपालिकामा आठ जना, बुढीगंगामा एक जना र बुढीनन्दा नगरपालिकामा दुई जना संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।