घोडाघोडीमा घोरीघोरा लवाङ्गी पूजा तथा थारु सांस्कृतिक महोत्सव सुरु
कैलालीको घोडाघोडीमा घोरीघोरा लवाङ्गी पूजा तथा थारु
सांस्कृतिक महोत्सव २०८० सुरु भएको छ । घोडाघोडी तथा संस्कृति संरक्षण समाजको आयोजनामा ‘थारु भाषा, कला, धर्म, संस्कृति के गरी सम्मान, घोरीघोरा धार्मिक पर्यटकीय क्षेत्र हे चिनाइ ना हमार अभियान’ भन्ने मूल नाराका साथ नगरपालिका–१ घोडाघोडी मन्दिर परिसरमा महोत्सव सुरु भएको हो ।
शुक्रवार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले घोरीघोरा लवाङ्गी पूजा तथा सांस्कृतिक महोत्सव शुभारम्भ गरेका हुन । कार्यक्रममा प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरी, कैलाली–३ प्रदेशसभा (२) का नवनिर्वाचित सदस्य खुसीराम डगौरा,सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख (प्रहरी नायव महानिरीक्षक) भरत बहादुर बोहरा,नगरप्रमुख खडक बहादुर रावत, उपप्रमुख गुलिया कुमारी चौधरी, जनप्रतिनिधि, राजनीतिक दलका नेतालगायत विभिन्न व्यक्तिको सहभागिता रहेको थियो ।
महोत्सव पुस १ गतेसम्म सञ्चालन हुने छ । लवाङ्गी पूजा तथा घोरीघोरा महोत्सवमा विशेष गरी थारु समुदायको पुरानो गुरुवाहरुद्वारा नाचिने बडका नाच, महिलाद्वारा सामूहिक नाचिने सखिया नाच, लाठी नाच, झुम्रा नाच, दिन नचुवा नाच, धमार, मांगरका साथै थारु समुदायको स्थानीय प्रतिभाको संरक्षण संवर्द्धनका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो समुदायको पहिचानलाई चिनाउनका लागि विभिन्न प्रस्तुति प्रस्तुत गरिएको थियो ।
महोत्सवमा थारु संस्कृतिका व्यावसायिक सामग्रीको प्रदर्शनी, स्थानीय गाउँ–गाउँको झाँकी प्रदर्शनी, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति, थारु जनजाति तथा आदिवासी समुदायको रहनसहन वेशभूषाका साथै विभिन्न थारु नाचको प्रस्तुति रहने आयोजक संस्था घोडाघोडी तथा संस्कृति संरक्षण समाजले जनाएको छ । थारु समुदायले घोडाघोडीमा लवाङ्गी पूजा परापूर्व कालदेखि गर्दै आएको बताइन्छ । अन्नबाली घर भित्र्याइसकेपछि त्यो अन्नबाली देउतालाई चढाउनुपर्ने मान्यतासहित यहाँ लवाङ्गी पूजा मनाइने गरिन्छ ।
पछिल्लो एक दशक देखि यहाँ महोत्सव समेत आयोजना हुन लागेको हो । यहाँ कैलाली,कञ्चनपुर,दाङबाट पनि ठुलो सङ्ख्यामा भक्तजनहरू आउने गर्दछन् । घोडाघोडी तथा संस्कृति संरक्षण समाजका अध्यक्ष चन्द्र चौधरीको अध्यक्षतामा भएको महोत्सव उद्घाटन कार्यक्रममा घोडाघोडी नगरपालिका, बर्दगोरिया गाउँपालिकाका ८२ गाउँका भलमन्सा तथा स्थानीयहरूको सहभागिता रहेको थियो । घोडाघोडी नगरपालिका नगर स्तरीय भलमन्सा कार्यसमितिका अध्यक्ष बुधराम चौधरीको स्वागत मन्तव्य सँगै सुरु भएको कार्यक्रमको सञ्चालन दयाराम चौधरीले गरेका थिए ।