धनगढी – कैलालीको अत्तरियामा प्रदान कार्यालय रहेको संगम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो पाँचौँ वार्षिक उत्सवको अवसरमा महिला बालबालिका सेभ हाउसलाई सहयोग हस्तान्तरण गरेको छ ।
माग ७ गते अत्तरियामा रहेको सेभहाउसलाई खाद्यान्न र टेबल–कुर्सी सहयोग गरीएको सहकारीका अध्यक्ष चन्द्र बहादुर विष्टले जानकारी दिए । ‘हामी ५ बर्षमा प्रवेश गरेको यो सुखद उपलक्ष्यमा महिला र अनाथ बालबालिकालाई केही सहयोग होस भनेर राहत सामाग्री दिएका हौँ। प्रत्येक वर्ष केही न केही सामाजिक कार्य गरेर वार्षिक उत्सव मनाउने हाम्रो योजना छ,’अध्यक्ष विष्टले भने ।
सहकारीको अन्तर्राष्ट्रिय मूल्य र सिद्धान्तलाई अवलम्बन गर्दै आर्थिक सामाजिक र सांस्कृतिक रूपान्तरण तथा परिवर्तन मार्फत सदस्यहरूलाई निरन्तर सेवा प्रदान गर्ने संस्थाको लक्ष्य रहेको सहकारीका व्यवस्थापक अमर कुँवरले बताए । ‘हामी हाम्रो लक्ष्यमा प्रतिबद्ध छौँ । हाम्रो प्रमुख कर्तव्य भनेकै सदस्यहरूको सेवा र आर्थिक समृद्धि हो। हजुरहरूको साथ र सहयोग हाम्रो लागि अमूल्य रहनेछ,’व्यवस्थापक कुँवरले भने ।
पाँच वर्षको अवधिमा सहकारीको शेयर पुँजी १ करोड ६ लाख ९५ हजार पुगेको छ भने ऋण तर्फ सहकारीले ८ करोड ५० लाख लगानी गरेको देखिएको छ । संस्थाको कुल पुँजी भने १० करोड १३ लाख १० हजार ८ सय २६ पुगेको छ ।