धनगढी-दलित महिला सङ्घ (फेडो)ले दलित महिला र सीमान्तकृत समुदायका विषयमा गौरीगङ्गा नगरपालिकाका सरोकारवालाहरू सँग छलफल गरेको छ । लैङ्गिक तथा सामाजिक न्यायमा दलित महिला र सीमान्तकृत सरोकारहरूका विषयमा आइतबार अन्तरक्रिया गरीएको हो । छलफलका क्रममा सरोकारवालाहरूले नीतिहरू प्रयाप्तरुपमा वने पनि कार्यान्वयन पक्ष फितलो हुँदा दलित समुदायका अधिकार मिचिएको निष्कर्ष निकालेका छन् ।
सरोकारवालाहरूले दलित समुदाय सशक्तीकरणका कार्यक्रममा जोड दिन पनि नगरपालिकाका जनप्रतिनिधीहरुलाई आग्रह गरेका छन् । कार्यक्रममा बोल्दै गौरीगङ्गा नगरपालिका वडा नम्बर ८ की वडाध्यक्ष करुणा चौधरीले जनचेतनामूलक कार्यक्रममाहरुलाई कोठामा सीमित नराखी बस्ती बस्तीमा गरिनु पर्ने बताइन् । दलित समुदायका उत्थानका लागी हुने कार्यक्रमहरूमा छुवाछुत गर्ने समुदायका व्यक्तिहरूलाई पनि समावेश गरिनु पर्ने उनको भनाई थियो ।
अन्तरक्रियामा बोल्दै गौरीगङ्गा नगरपालिकाका नगर प्रमुख देवीदत्त कँडेलले दलित समुदायका नीति तथा कार्यक्रम र बजेटलाई प्राथमिकतामा राखिएको बताए । दलित समुदायको उत्थानका लागी विशेष प्याकेज नै सञ्चालनमा रहेको बताउँदै नगर प्रमुख कँडेलले जातीय छुवाछुत पनि निर्मूल हुँदै गइरहेको दाबी गरे ।
दलित महिला सङ्घ फेडोले कार्यक्रममा हाल सम्मका गरिएका गतिविधि, देखिएका चुनौती, मुख्य उपलब्धि समेटेर तयार पारिएको कार्यपत्र कार्यक्रममा प्रस्तुत गरिएको थियो।
दलित महिला सङ्घ (फेडो) का कैलाली संयोजक विनोद घिमिरेले दलित महिलालाई आर्थिक तथा सामाजिक रूपमा सक्षम बनाउन विभिन्न गतिविधि सञ्चालन भइरहेको बताए ।